शोषण रहित समाज निर्माणमा सिवाईसीको भूमिका महत्वपूर्ण : नगर प्रमुख पौडेल
मंसिर २२, बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुसँग छलफल गर्ने उद्देश्यले आयोजित विस्तारित मञ्च आज बागलुङमा सम्पन्न भएको छ । संस्थाको ११ औं वार्षिक साधारणसभाको कार्यक्रमहरु अन्तर्गत केन्द्रीय कार्यालय सेवा क्षेत्रभित्रका सदस्यहरुलाई लक्षित गरी विस्तारित मञ्च आयोजना गरिएको थियो । जिल्लाभरि कार्यक्षेत्र रहेको संस्थाको यसअघि नै १० स्थानमा सप्ताहव्यापी रुपमा विस्तारित मञ्चका कार्यक्रमहरु सम्पन्न भइसकेकोे छ ।
बागलुङ बजारमा आयोजित विस्तारित मञ्चमा बोल्दै ंबागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सहकारी क्षेत्रमा सिवाईसीले छुट्टै पहिचान स्थापित गरेको बताउनुभयो । शोषण रहित समाज निर्माणमा सिवाईसीले महत्वपूर्ण भूमिका खेलेको औल्याउँदै सिवाईसीले पुँजी परिचालन परिचालन मार्फत आर्थिक गतिविधिहरुलाई सशक्त ढंगले अगाडि बढाएको बताउनुभयो । समयको माग अनुसार एटिएम, मोबाइल बैंङ्किङ, क्युआर लगायतका प्रविधिमार्फत सदस्यहरुलाई सेवा दिएर अनुकरणीय कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा सहकारीका पूर्व सल्लाहकार डा. तरुण पौडेल, शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यक्ष, सल्लाहकार बेदप्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, शेयर सदस्यको तर्फबाट सकुन्तला शर्मा, थानेश्वर सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरुले सिवाईसी सहकारीले बागलुङ जिल्लामा मात्रै नभई देशभरिका सहकारीहरुमाझ लोकप्रिय कार्यक्रमहरु सञ्चालन गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा शेयर सदस्य सूर्य महतले कविता वाचन गर्नुभएको थियो । सो अवसरमा संस्थाका सचिव जयराम भारीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन एवं आगामी आ.व.को प्रस्तावित नीति तथा कार्यक्रम र संस्थाका कोषाध्यक्ष सितादेवी सापकोटा कडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट बारे सदस्यहरुसँग छलफल गरी पारित गरिएको थियो ।
विस्तारित मञ्चको अवसरमा केन्द्रीय कार्यालय अन्तर्गतका ८ जना जेष्ठ सदस्यहरुलाई पाँचहजारका दरले औषधि उपचार खर्च वितरण गरिएको थियो । यसअघि ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक तथा ६८ वर्ष उमेर पुगेका एकल महिलालाई मासिक पेन्सन उपलब्ध गराउदै आएको सहकारीले यस वर्षदेखि ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वार्षिक पाँचहजार रुपैया दिन सुरु गरेको हो । यस अवसरमा ८९ वर्षीय नन्दकुमार राजभण्डारी, ८७ वर्षीय हरिगोविन्द राजभण्डारी, ८५ वर्षीय धनकुमारी राजभण्डारी, ८३ वर्षीय कृष्ण बहादुर श्रेष्ठ, ८३ वर्षीय गणेशकुमार पालिखे, ८२ वर्षीय लिल कुमार खत्री, ८२ वर्षीय खड्कसिंह छन्त्याल र ८१ वर्षीय लाबहादुर घर्तीलाई जनही पाँचहजार उपलब्ध गराइएको थियो ।
संस्थाले जिल्लाभरि रहेका जेष्ठ सदस्यहरुलाई यसअघिका विस्तारित मञ्चमा औषधि उपचारको लागि उक्त रकम वितरण गरिसकेको छ ।
त्यसैगरी मञ्चमा संस्थाका उत्कृष्ट सदस्यहरुलाई सम्मानित गरिएको थियो । उक्त अवसरमा असल बचतकर्तातर्फ सरस्वती सापकोटा आचार्य, असल बालबचतकर्तातर्फ शिवकुमार थापा मगर, असल ऋणी उद्यमी पार्वती शर्मा र असल सदस्य इन्द्रबहादुर सुनुवारलाई सम्मानित गरिएको थियो ।
सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गण्डकी थापा अधिकारी र संचालन सह–सचिव सुवास आचार्यले गर्नुभएको थियो । वार्षिक प्रगति तथा आगामी कार्ययोजना सम्बन्धमा सदस्यहरुसँग छलफल गर्न आयोजित विस्तारित मञ्च मंसिर १५ गतेबाट सुरु भई आज सम्पन्न भएको हो । संस्थाको साधारण सभा मंसिर २५ गते आयोजना गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।
१२ हजार ५ सय ९५ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २२ करोड ८७ लाख ७३ हजार, कूल पुँजी तथा दायित्व १ अर्व ७६ करोड ५१ लाख पुगेको छ । बागलुङ जिल्लाभरि कार्यक्षेत्र रहेको संस्थाले जिल्लाका ११ स्थानबाट ६५ जना कर्मचारीमार्फत वित्तीय तथा गैरवित्तीय सेवा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Fill out this field
Fill out this field
कृपया मान्य ईमेल ठेगाना हाल्नुहोस् ।
You need to agree with the terms to proceed

मेनु