संस्थाहरू जन्माउनु मात्र ठूलो कुरा होइन, जन्मिएको संस्थालाई उद्देश्य, सिद्धान्त, मूल्य–मान्यता र विश्वासका आधारमा हुर्काउँदै दिगो र सबल संस्थाका रूपमा स्थापित गर्नु महत्वपूर्ण कुरा हो । संस्था स्थापना गर्न एउटा समय, सोच र प्रयास आवश्यक पर्छ; तर त्यसलाई निरन्तरता दिँदै सदस्यहरूको विश्वास जित्नु, बदलिँदो समय र परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्नु र पुस्तौँपुस्तासम्म उपयोगी हुने संस्थाका रूपमा स्थापित गर्नु अझ चुनौतीपूर्ण कार्य हो ।
सहकारी संस्था केही व्यक्तिहरूको प्रयासबाट जन्मिए पनि यसको वास्तविक शक्ति हजारौँ सदस्यहरूको विश्वास, सहभागिता र अपनत्वमा निहित हुन्छ । सहकारीको मुटु सदस्य हुन् भने सदस्यको विश्वास नै सहकारीको प्राण हो । सदस्यका साना–ठुला सबै प्रकारका बचतलाई एकत्रित गर्दै आवश्यकता परेको समयमा वित्तीय सहयोग उपलब्ध गराउनु, सदस्यहरूलाई आत्मनिर्भर र उद्यमी बनाउन प्रेरित गर्नु तथा उनीहरूको आर्थिक र सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउनु सहकारीको मूल उद्देश्य हो ।
यही उद्देश्य र विश्वासका साथ “सामाजिक एकता, आजको आवश्यकता” भन्ने मुल नाराको माध्यमबाट काम गरिरहेको समाजिक विकास संस्था चारतारे युवा क्लब, सिवाईसी नेपालको मातृत्वमा स्थापित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज आफ्नो गौरवपूर्ण यात्राको १७ औँ वर्षमा प्रवेश गरेको छ । यो यात्रा केवल वर्ष गन्तीको यात्रा होइन; यो सदस्यहरूको विश्वास, सञ्चालकहरूको निरन्तर कुशल नेतृत्व, कर्मचारीहरूको मेहनत, शुभेच्छुकहरूको साथ र संस्थाप्रतिको सामूहिक अपनत्वले निर्माण गरेको यात्राको कथा हो । १७ वर्षको यात्रामा संस्थाले अनेकौँ आरोह–अवरोह, अवसर र चुनौतीहरू पार गर्दै आफूलाई निरन्तर परिष्कृत, परिपक्व र सशक्त बनाउँदै आएको छ । यस अवधिमा समय परिवर्तन भएको छ, सदस्यका आवश्यकता र अपेक्षाहरू परिवर्तन भएका छन्, वित्तीय प्रविधिमा व्यापक परिवर्तन आएको छ र सहकारी क्षेत्रको स्वरूपसमेत नयाँ आयामतर्फ अघि बढेको छ । तर सदस्यको हित, विश्वास र समृद्धिलाई केन्द्रमा राखी अघि बढ्ने स्थापनाको सोच आज पनि उत्तिकै दृढ र अटल रहेको छ । वित्तीय पहुँचबाट वञ्चित, अवसरको खोजीमा रहेका तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका वर्गहरूको आवाज बन्दै, उनीहरूलाई आर्थिक सशक्तीकरण र आत्मनिर्भरताको मार्गमा अग्रसर गराउने कार्यलाई संस्थाले आफ्नो प्रमुख दायित्वका रूपमा निरन्तरता दिँदै आएको छ । समाजका पहुँचविहीन तथा सीमान्तकृत वर्गहरूको हित, उन्नति र समृद्धिका लागि निरन्तर प्रतिबद्धताका साथ अघि बढेको हाम्रो यो यात्रा आज कार्यक्षेत्रका हिसाबले गण्डकी प्रदेशमा, पहुँच तथा विस्तारका हिसाबले धौलागिरी क्षेत्रभरि र प्रभावका हिसाबले देशव्यापी रूपमा स्थापित हुँदै एक अनुकरणीय यात्राका रूपमा विकसित हुन सफल भएको छ ।
१. स्थापनाको औचित्य ः
तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ ? धन, मान, प्रतिष्ठा, प्रसिद्धि, आनन्द, शान्ति वा अरू केही ? जब मानिसलाई यो प्रश्न गरिन्छ, अधिकांशको उत्तर हुन्छ—सुख, शान्ति र आनन्दपूर्ण जीवन । तर, आफूले चाहेको जस्तो जीवन निर्माण गर्न के गर्नुपर्छ भन्ने प्रश्नमा भने धेरै मानिस अन्योलमा पर्छन् । किनकि जीवनमा के प्राप्त गर्ने भन्ने चाहना राख्नु र त्यो प्राप्त गर्न आवश्यक ज्ञान, सीप, योजना, अनुशासन र व्यवहार विकास गर्नु फरक कुरा हुन् ।
मानिसले सुखी, सम्मानित र आत्मनिर्भर जीवन जिउन आर्थिक रूपमा सक्षम हुनु आवश्यक छ । तर, आर्थिक स्रोत हुनु मात्र पर्याप्त हुँदैन; त्यसको उचित व्यवस्थापन गर्ने ज्ञान, नियमित बचत गर्ने बानी, उपलब्ध स्रोतको सदुपयोग गर्ने क्षमता र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण पनि उत्तिकै आवश्यक हुन्छ । हाम्रो परम्परागत शिक्षा प्रणालीले जीवनोपयोगी ज्ञान, उद्यमशीलता, वित्तीय साक्षरता र आर्थिक आत्मनिर्भरताका विषयलाई पर्याप्त प्राथमिकता दिन नसक्दा धेरै मानिसले लामो समयसम्म आर्थिक व्यवस्थापनका आधारभूत पक्षहरू सिक्ने अवसर पाएनन् । परिणामस्वरूप, आम्दानी गर्न थालेपछि मात्र पैसाको महत्व बुझ्ने, कमाएको रकम जोगाउन नसक्ने र भविष्यका लागि आर्थिक आधार निर्माण गर्न कठिनाइ भोग्ने अवस्था देखियो ।
चारतारे युवा क्लव, सिवाईसी नेपाल नामक गैरसरकारी सामाजिक विकास संस्था स्थापना गर्ने समयदेखि नै मेरो मनमा एउटा प्रश्न बारम्बार उठ्ने गथ्र्यो—एउटै समाजमा कोही मानिस पर्याप्त सम्पत्ति र सुविधासहित जीवन बिताइरहेका छन् भने कोही मानिसलाई बिहान–बेलुकाको छाक टार्नसमेत किन कठिन हुन्छ ? के गरिबी केवल भाग्यको परिणाम हो ? के सीमित आर्थिक स्रोत भएका मानिसले आफ्नो जीवनस्तर सुधार गर्न सक्दैनन् ? समाजमा रहेर काम गर्दै जाँदा मैले महसुस गरेँ कि गरिबीको एउटा प्रमुख कारण आर्थिक स्रोतको अभाव भए पनि त्यससँगै बचत गर्ने अवसरको कमी, वित्तीय ज्ञानको अभाव, उत्पादनशील क्षेत्रमा लगानी गर्न नपाउने अवस्था, संस्थागत सहयोगको कमी र आफूले केही गर्न सक्दिनँ भन्ने मनोवैज्ञानिक बाधा पनि उत्तिकै जिम्मेवार छन् । थोरै आम्दानीबाट पनि नियमित बचत गर्न सकिन्छ, सानो पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकिन्छ र सामूहिक प्रयासबाट आर्थिक तथा सामाजिक परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास विकास गर्नु आवश्यक थियो । मैले सधै भन्ने गरेको छु ः मानीस गरिव भएर जन्मन पाईन्छ तर गरिव भएर मर्न पाईदैन । गरिवले पनि बचत गर्न सक्छन् ।
यसै सोचका आधारमा गरिबी न्यूनीकरणलाई राहत र सहयोगमा मात्र सीमित नराखी मानिसलाई आफ्नै खुट्टामा उभिन सक्ने, आर्थिक रूपमा आत्मनिर्भर बन्ने र सम्मानजनक जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले सिवाईसी नेपालमार्फत वि.सं. २०५७ सालमा लघुवित्त कार्यक्रमको सुरुवात गरियो । कार्यक्रमको प्रारम्भमा विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि पारिएका महिला दिदीबहिनीहरूलाई संगठित गर्दै समूह तथा केन्द्र निर्माण गर्ने, समूहमा आबद्ध हुनुअघि आवश्यक अभिमुखीकरण तथा तालिम प्रदान गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने, नियमित बचत गर्ने बानीको विकास गर्ने र साना कर्जामार्फत आयआर्जनमूलक गतिविधिमा संलग्न गराउँदै उद्यमशीलतातर्फ अग्रसर गराउने कार्यलाई प्राथमिकता दिइयो ।
यसरी सदस्यहरूलाई क्रमशः आर्थिक गतिविधिमा सहभागी गराउँदै आत्मनिर्भरतातर्फ उन्मुख गराइरहेको सन्दर्भमा कार्यक्रमप्रतिको आकर्षण बढ्दै गयो । सदस्य संख्या र कार्यक्षेत्र विस्तारसँगै उद्यमशीलता तथा आयआर्जनका लागि कर्जाको माग पनि बढ्न थाल्यो । तर, तत्कालीन अवस्थामा संस्थाको आफ्नै नेटवर्थ तथा उपलब्ध वित्तीय स्रोतले सदस्यहरूको बढ्दो कर्जा मागलाई सम्बोधन गर्न पर्याप्त थिएन । आवश्यक स्रोत परिचालनका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग पहल गर्दा पनि हाम्रो संस्थागत क्षमता र वित्तीय आधार सीमित भएकाले अपेक्षित सहयोग प्राप्त गर्न सहज भएन । गरिवीलाई विना धितो ऋण दिएर उद्यमी बनाउने कार्य अत्यन्त जटिल थियो तर स्रोतको सीमितता र बाह्य सहयोगको अभावले हाम्रो अभियानलाई रोक्न सकेन । बरु, यसले आफ्नै समुदायमा उपलब्ध पुँजी परिचालन गरी आत्मनिर्भर वित्तीय संरचना निर्माण गर्नुपर्ने सोचलाई थप बलियो बनायो । यही क्रममा तत्कालीन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले व्यक्तिगत रूपमा बीस–बीस हजार रुपैयाँका दरले पुँजी संकलन गरी सदस्यहरूको आर्थिक आवश्यकतामा परिचालन गर्ने साहसिक पहल गर्नुभयो । त्यो रकम केवल वित्तीय स्रोत जुटाउने माध्यम मात्र थिएन; गरिबी न्यूनीकरण, सदस्यको जीवनस्तर सुधार र सामूहिक प्रयासबाट सामाजिक परिवर्तन सम्भव छ भन्ने विश्वासको प्रतीकसमेत थियो ।
यस अनुभवले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो—समुदायको आर्थिक रूपान्तरणका लागि बाह्य स्रोतको प्रतीक्षा मात्र गरेर हुँदैन; स्थानीय स्तरमा छरिएर रहेको सानो–सानो पुँजीलाई एकत्रित गर्दै आपसी विश्वास, सामूहिक प्रतिबद्धता र संस्थागत अनुशासनका आधारमा परिचालन गर्न सक्नुपर्छ । सदस्यको बचतलाई सुरक्षित रूपमा संकलन गर्ने, आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउने र उत्पादनशील क्षेत्रमा पुँजी परिचालन गर्ने समुदायमा आधारित संस्थाको आवश्यकता यही क्रममा अझ स्पष्ट हुँदै गयो । साथै, गरिबी न्यूनीकरणको अभियानलाई महिला दिदीबहिनीहरूमा मात्र सीमित नराखी युवा, पुरुष, किसान, श्रमिक, साना व्यवसायी तथा आर्थिक अवसरबाट वञ्चित अन्य समुदायलाई समेत समेट्नुपर्ने आवश्यकता महसुस भयो । स्थानीय स्रोत, सीप र श्रमलाई परिचालन गर्दै रोजगारी, स्वरोजगार तथा उद्यमशीलताका अवसर सिर्जना गर्न सके मात्र आर्थिक विकासको आधार फराकिलो बन्न सक्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ । यसका लागि सदस्यहरूको स्वामित्व, सहभागिता र सामूहिक उत्तरदायित्वमा आधारित सहकारी प्रणाली उपयुक्त माध्यम हुने विश्वासका साथ सहकारी संस्था स्थापनाको प्रक्रिया अघि बढाइयो ।
यही दूरदृष्टि, अनुभव र आवश्यकताको परिणामस्वरूप वि.सं. २०६६ चैत २६ गते सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरियो । यो स्थापना केवल एउटा वित्तीय संस्था गठन गर्ने कार्य थिएन; बरु, सिवाईसी नेपालमार्फत सुरु गरिएको गरिबी न्यूनीकरण र आत्मनिर्भरता प्रवद्र्धनको अभियानलाई समुदायको स्वामित्व र सहभागितामा आधारित वित्तीय संस्थामार्फत थप व्यवस्थित, व्यापक र दिगो बनाउने ऐतिहासिक प्रयास थियो । स्थानीय पुँजीलाई स्थानीय आवश्यकतासँग जोड्ने, बचत संस्कारको विकास गर्ने, वित्तीय पहुँचबाट वञ्चित समुदायलाई आवश्यक सेवा उपलब्ध गराउने, उद्यमशीलता प्रवद्र्धन गर्ने र सामूहिक प्रयासबाट समृद्ध समाज निर्माण गर्ने मूल उद्देश्यका साथ यस संस्थाको स्थापना गरिएको हो ।
एक सय सेयर खरिद गर्न नसक्ने वा खरिद गर्ने सोचसमेत बनाउन नसक्ने गरिब तथा विपन्न वर्गका मानिसहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै लखपति बनाउने, सानो–सानो बचतबाट पनि आर्थिक स्वतन्त्रता हासिल गर्न सकिन्छ भन्ने विश्वास जगाउने र सदस्यहरूलाई सामूहिक पुँजी निर्माणको अभियानमा सहभागी गराउने उद्देश्यले संस्थाले आफ्नो यात्रा अघि बढायो ।
२. संस्थाको विकासक्रम र वर्तमान अवस्था
२.१. विकासक्रम
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को विकासक्रम केवल एउटा वित्तीय संस्थाको स्थापना, विस्तार र कारोबार वृद्धिको कथा होइन; यो समुदायमा वित्तीय चेतना जगाउने, आर्थिक रूपमा पछाडि परेका वर्गलाई बचत तथा ऋणको पहुँचमा जोड्ने, सामूहिक पुँजी निर्माण गर्ने र सहकारीमार्फत आत्मनिर्भर समाज निर्माण गर्ने निरन्तर अभियानको इतिहास हो । सीमित स्रोत, साधन र पुँजीबाट सुरु भएको यस यात्राले समयक्रमसँगै विभिन्न चरण पार गर्दै संस्थागत विकास, संरचनागत विस्तार, सदस्य सेवा, सामाजिक सुरक्षा र सञ्जालीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
संस्थाको विकासलाई केवल विगतका गतिविधि र उपलब्धिको विवरणका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । प्रत्येक चरणले संस्थालाई के सिकायो, कस्तो संस्थागत क्षमता निर्माण ग¥यो, सदस्यको विश्वास कसरी अभिवृद्धि ग¥यो र आगामी यात्राका लागि कस्तो आधार तयार ग¥यो भन्ने दृष्टिकोणबाट समेत यसको समीक्षा गर्न आवश्यक छ । यही मान्यताका आधारमा संस्थाको समग्र यात्रालाई जागरण, विकास, प्रवद्र्धन, सञ्जालीकरण र स्थानीयकरण गरी पाँच चरणमा विभाजन गरिएको छ । यी चरणहरू संस्थाको विगतको उपलब्धि, वर्तमानको जिम्मेवारी र भविष्यको रणनीतिक दिशालाई जोड्ने महत्त्वपूर्ण आधार हुन् । यस विकासक्रमले संस्थालाई एउटा सामान्य बचत तथा ऋण सहकारी संस्थाबाट सदस्यको आर्थिक उन्नति, सामाजिक सुरक्षा र सामुदायिक रूपान्तरणमा योगदान पु¥याउने सशक्त संस्थाका रूपमा अघि बढाउने परिकल्पना प्रस्तुत गर्दछ । अबको चुनौती विगतका उपलब्धिलाई संरक्षण गर्नु मात्र नभई संस्थाले आर्जन गरेको अनुभव, संरचना र विश्वासलाई अझ प्रभावकारी बनाउँदै सेवाकेन्द्रहरूलाई सक्षम, आत्मनिर्भर र उत्तरदायी बनाउनु हो । यसका लागि संस्थाको विकासक्रमलाई विगतको गौरवगाथाका रूपमा मात्र नभई आगामी नेतृत्वले अवलम्बन गर्नुपर्ने कार्यदिशा र जिम्मेवारीको आधारका रूपमा बुझ्नुपर्छ ।
यसै सन्दर्भमा संस्थाको विकासक्रमलाई निम्न पाँच चरणमा प्रस्तुत गरिएको छ ।
२.१.१. जागरण (Awakening Phase)
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. को परिकल्पना भएको समयमा बागलुङ नगरपालिकामा मात्र ८० भन्दा बढी र समग्र जिल्लामा ३८० भन्दा बढी सहकारी संस्था क्रियाशील थिए । त्यही भीडमा अर्को संस्था थप्ने मात्र उद्देश्य भए सिवाईसी जन्माउनु पर्ने कुनै कारण थिएन । तर सहकारीको छवि कमजोर, अविश्वास बढ्दो र वित्तीय पहुँचबाट टाढा रहेका वर्गहरू निराश अवस्थामा थिए । यही समस्यालाई अवसर बनाउँदै हामीले मिति २०६६।१२।२६ देखि पहिलो कार्यकाल २०७०।०५।०८ सम्म घर–घरमा पुगेर सहकारी र वित्तीय अनुशासनबारे जागरण फैलायौँ । सहकारीको वास्तविक मूल्य, उद्देश्य र सदस्य–केन्द्रित भावनालाई बुझाउँदै गरिएका अभियानहरूले अपेक्षाभन्दा धेरै ठूलो विश्वास र साथ दिलायो । परिणामस्वरूप, आज सिवाईसी धौलागिरी क्षेत्रकै अग्रणी वित्तीय संस्थाका रूपमा स्थापित भयो । यो समयावधिलाई संस्थाको ‘जागरणको युग’ मानिएको छ ।
२.१.२. विकास (Development Phase)
मिति २०७०।०५।०९ देखि २०७६।०६।११ सम्मको दोस्रो र तेस्रो कार्यकाल संस्थाको नीतिगत सुदृढीकरण, संरचनागत विस्तार र व्यावहारिक विकासको स्वर्णिम चरण रह्यो । यस अवधिमा संस्थालाई दिगो रूपमा सञ्चालन गर्न आवश्यक नीति–नियमहरूको निर्माण तथा परिमार्जन गरियो, कार्यक्षेत्रलाई धौलागिरी स्तरीय बनाइयो, सेवा केन्द्रहरूको संरचना व्यवस्थित बनाइयो, संस्थाको विनियमलाई समयसापेक्ष परिमार्जन गर्दै विकेन्द्रीकृत संरचनाबाट सञ्चालन प्रणाली प्रारम्भ गरियो । यही कार्यदक्षताले सिवाईसी साकोस नेपालमै सबैभन्दा धेरै सहकारी संस्थाहरुलाई एकिकरण गर्न सफल भयो । यो हामी सबैजनाको गौरवको विषय वनेको छ । आज देशभरका सहकारी प्रतिनिधिहरू सिवाईसीको कार्यप्रणाली अध्ययन गर्न र यसले प्रदान गरेका सेवा सुविधाहरुको बारेमा बुझ्न आउने वातावरण बनेको छ । यो चरणलाई हामी ‘संस्था विकासको स्वर्णिम युग’ को रूपमा लिएका छौं र सधै अविस्मरणीय रहने छ ।
२.१.३. प्रवद्र्धन (Promotion Phase)
मिति २०७६।०६।११ देखि २०८०।०८।१६ सम्मको चौथो कार्यकाल सामाजिक सुरक्षा, संस्थागत संरचना र सदस्य–सेवा विस्तारको दृष्टिले महत्वपूर्ण रह्यो । यस अवधिमा सामाजिक सुरक्षा कार्यक्रमहरूको पुनरावलोकन गरियो, गाउँटोल तथा वडा समन्वय संरचनालाई सक्रिय बनाइयो, तथा सेवाहरूलाई घर–घरमा पु¥याउने नीतिगत व्यवस्थाको थालनी गरियो । समिती, उपसमिती तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै सामाजिक सुरक्षा कोषमार्फत सेवा–सुविधालाई सुदृढ बनाउन सकियो । कोष वृद्धिमा जोड दिइएको यो चरणलाई संस्थाले ‘प्रवद्र्धनको चरण’ का रूपमा दर्ज गरेका छौं । यस अवधिमा आईपुग्दा सिवाईसी सहकारी जगतकै व्राण्ड वन्नका साथै सिकाई थलोको रुपमा समेत विकसित भएको छ । सिवाईसीले के गर्छ तव हामी गरौंला भनि पर्ख हेरको स्थितिमा समग्र अभियानकै आसाको श्रोतको रुपमा विकसित हुन सक्यौं जुन सदा अविस्मरणीय रहने छ ।
२.१.४. सञ्जालीकरण (Networking Phase)
मिति २०७६।०८।१६ देखि २०८४ सालको अन्त्यसम्मको अवधिलाई सिवाईसीले ‘सञ्जालीकरणको चरण’ का रूपमा परिभाषित गरेको छ । यस चरणमा संस्थाको सेवा प्रवाह साविकका गाउँ विकास समितिका आधारमा गठन गरिएका वडा संरचनामार्फत सञ्चालित भएको छ । जसअन्तर्गत ३६३ वटा गाउँटोल समन्वय उपसमिति मार्फत १८२५ जना सदस्यहरुको गाउँटोलको नेतृत्वमा पुगेका छन् । २५ वटा सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति तथा विभिन्न विषयका १६ वटा उपसमितिहरू सक्रिय छन् । यस अवधिमा सञ्जालीकृत संरचनालाई मजबुत, संस्थागत र आधुनिक बनाइएको छ । सम्पूर्ण सेवाहरूलाई सूचना–प्रविधिमा आधारित बनाउँदै बजार प्रतिनिधिको भूमिकालाई चरणबद्ध रूपमा रूपान्तरण गर्दै लगिने छ । सबै सेवाकेन्द्रहरुको कारोवार एकिकृत गरिएको छ । भने सिसि क्यामेरा मार्फत केन्द्रिय कार्यालयबाटै अनुगमन गर्न सकिने गरी व्यवस्थापन भएको छ । साथै, २०८५ देखि २०८९ सम्म सेवाकेन्द्रहरूलाई क्रमिक रूपमा स्थानीयकरण गर्ने तयारी यसै चरणमा पूरा गर्ने गरी संस्थाका सम्पूर्ण सिकाई तथा अनुभवहरुलाई व्यवहारपयोगी वनाउदै लगिएको छ ।
२.१.५. स्थानीयकरण (Localization Phase)
मिति २०८५ देखि प्रारम्भ हुने छैटौँ कार्यकाललाई स्थानीयकरणको चरण को रूपमा परिकल्पना गरिएको छ । यस अवधिमा दिगो, आत्मनिर्भर र स्थानीय रूपमा सञ्चालन हुने क्षमतायुक्त सेवाकेन्द्रहरूलाई क्रमिक रूपमा अधिकार प्रत्यायोजन गरिनेछ । केन्द्रीय समिति मार्गदर्शक, अभिभावकीय भूमिका र नीतिगत ढाँचाको संयोजकका रूपमा रहनेछ । सञ्जालीकरणको चरणमै सेवाकेन्द्र हस्तान्तरणका सूचकाङ्क तयार पारिनेछन्, जसको आधारमा २०८५ पछि सेवाकेन्द्र स्थानीय स्वायत्त संरचना अन्तर्गत सञ्चालनमा ल्याइनेछ । भने वद्लिदो समय र सदस्यको चाहानाको उचित सम्वोधन गर्दै अगाडि बढ्नु पर्नेछ । जिम्मेवार र संस्थाका लागि समय दिन सक्ने दुरदर्शि सञ्चालक समितिले मात्र यो गहन जिम्मेवारी पुरा गर्न सक्ने कुरामा दुईमत नहोला । सेयर सदस्यज्यूहरुले आफुलाई मालिकको भूमिकामा राखि शसक्त विचार (Powerful Thinking) का साथ अगाडि वढ्न र निरन्तर जिज्ञासु भै हामी सक्छौ परिवर्तन सम्भव छ भनी चाउरीएका अनुहार भएका व्यक्तिहरुको जिवनस्तरमा सुधार ल्याउन, वित्तीय स्वतन्त्रताको आधार निर्माण गर्न सकियो भने मात्र हामीले गरेको दुःख र त्यागले उचित प्रतिफल दिनेछ भन्ने आग्रह र अनुरोध गर्दै यहाँहरुको रोजाईको पहिलो संस्था बनोस भन्ने अनुरोध गर्दछु ।
२.२. वर्तमान अवस्था
स्थापनाकालमा सीमित स्रोत, साधन र पुँजीबाट सुरु गरिएको हाम्रो यात्रा आज एउटा सशक्त सामूहिक अभियानका रूपमा अगाडि बढिरहेको छ । कुनै समय सानो रकम बचत गर्नसमेत कठिनाइ भोग्ने समुदायलाई बचतको महत्व बुझाउँदै आर्थिक गतिविधिमा सहभागी गराउने उद्देश्यले सुरु गरिएको यस संस्थाले आज हजारौँ सदस्यको विश्वास र सहभागिता प्राप्त गरेको छ । यो हाम्रो लागि केवल संस्थागत विस्तारको विषय होइन, बरु समुदायमा आर्थिक आत्मविश्वास जगाउने, वित्तीय पहुँच विस्तार गर्ने र सहकारीप्रतिको भरोसा स्थापित गर्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो ।
यस अवधिसम्म संस्थामा २७०६७ जना सदस्य, ६७०६ जना वालबचतकर्ता, र ४८९२ जना ऋणी सदस्य आवद्ध रहेको तथ्य स्वयंले हाम्रो सेवा दायरा निरन्तर विस्तार हुँदै गएको प्रमाणित गर्दछ । संस्थाले ३८,७६,३६,०००÷– रुपैयाँ सेयर पुँजी, २०,१६,८०,३१६÷– रुपैयाँ साधारण जगेडा कोष, तथा १,५९,६५,२९४÷– रुपैयाँ अन्य कोष सञ्चित गर्न सफल भएको छ । साथै १,६७,८४,६४,४६७÷– रुपैयाँ बचत संकलन र १,३६,७१,८७,४४९÷– रुपैयाँ ऋण लगानीमा राख्न सकेको छ, जुन हाम्रो वित्तीय परिचालनको प्रभावकारिता र सदस्यहरूको विश्वासको सूचक हो ।
संस्थाले जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै ५३,५५,८७,०७१÷– रुपैयाँ सम्भावित ऋण नोक्सानी व्यवस्था गरेको छ । तर, ५५,७४,४०,६६९÷– रुपैयाँ निष्क्रिय ऋण संस्थाका लागि चुनौतीका रूपमा रहेकोले आगामी वर्षमा यसलाई न्यूनिकरण गर्न विशेष कार्ययोजना लागू गरिनेछ । १,६०,९३,६३८÷– रुपैयाँ बाह्य ऋण, ६७,८७,६४,४३७÷– रुपैयाँ तरलता, (४०.४४) प्रतिशत तरलता अनुपात संस्थाको दिगो वित्तीय स्वास्थ्यतर्फ संकेत गर्छ । यद्यपि संस्थाले यस वर्ष ४२,७६,०४,९६७÷– रुपैयाँ नोक्सान व्यहोर्नु परे पनि सुधारात्मक कदमहरू, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा खर्च व्यवस्थापनमा कडाइका साथ काम गर्दै आगामी वर्षमा नाफा–मुखी परिणाम हासिल गर्ने लक्ष्य राखिएको छ । संस्थाको १,८९,४९,९६,६९३÷– रुपैयाँ कुल सम्पत्ति (वासलात) हाम्रो समग्र वित्तीय हैसियत तथा दीगो विकास क्षमताको आधारस्तम्भका रूपमा रहेको छ ।
वित्तीय कारोबारसँगै संस्थाले सदस्यको हित, सुरक्षा र सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो पहिचानको अभिन्न अङ्गका रूपमा आत्मसात् गरेको छ । यसै उद्देश्यले सदस्य हित कोषमार्फत सदस्य तथा तिनका परिवारको जीवनका विभिन्न अवस्था र आवश्यकतालाई सम्बोधन गर्ने गरी विविध गैरवित्तीय सेवा तथा सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सदस्य वा तिनका नजिकका परिवारजनको निधनमा प्रदान गरिने अध्र्वदैहिक सुविधा तथा समवेदना, प्राकृतिक विपत्तिबाट आवासमा क्षति पुगेमा उपलब्ध गराइने आवास सुरक्षा सहयोग, सुत्केरी सदस्यलाई माइतीको आत्मीयतासहित भेटघाट, शिशु दर्शन तथा पोषण सुविधा र ८० वर्ष उमेर भएका ज्येष्ठ नागरिक सदस्यलाई प्रदान गरिने पोषण तथा औषधोपचार सहयोग यसका प्रमुख उदाहरण हुन् । यी कार्यक्रमले सदस्यको दुःखमा साथ दिने, कठिन परिस्थितिमा राहत पु¥याउने र संस्थाप्रति आत्मीयता तथा अपनत्व अभिवृद्धि गर्ने उद्देश्य बोकेका छन् ।
त्यसैगरी जटिल प्रकृतिका रोगको उपचार तथा दुर्घटनाका कारण अङ्गभङ्ग भएका सदस्यलाई राहत, उपचार खर्च जुटाउन असमर्थ भई गम्भीर आर्थिक संकटमा परेका सदस्यलाई सहयोग, आकस्मिक उपचारका लागि सहुलियतपूर्ण ऋण, सदस्य तथा ऋण र बचतसँग सम्बन्धित बीमा सुविधा र आवश्यकताका समयमा रगत उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले रक्त समूह पहिचान तथा रक्त उपलब्धतामा सहजीकरणका कार्यक्रम सञ्चालन गरिएका छन् । यस्ता सेवाले सदस्य तथा तिनका परिवारमाथि आइपर्ने स्वास्थ्यसम्बन्धी जोखिम र आर्थिक भार कम गर्न सहयोग पु¥याउनुका साथै संस्था सदस्यको जीवनमा वास्तविक अर्थ राख्ने भरोसायोग्य सहयात्री बन्नुपर्छ भन्ने हाम्रो मान्यतालाई व्यवहारमा उतारेका छन् ।
शिक्षा, सामाजिक संरक्षण तथा पुस्तान्तरणलाई समेत संस्थाले महत्त्व दिएको छ । सदस्यका छोराछोरीले शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्दा प्रदान गरिने शैक्षिक सुविधा तथा सम्मान, विपन्न परिवारका बालबालिकाको अध्ययनमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषबाट उपलब्ध गराइने छात्रवृत्ति र ज्येष्ठ नागरिक पेन्सन तथा एकल महिला पेन्सनजस्ता कार्यक्रमले शिक्षा प्रोत्साहन, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापनमा सहयोग पु¥याउने लक्ष्य राखेका छन् । यसका अतिरिक्त ६० वर्ष उमेर पूरा गरेका सदस्यलाई छनोटका आधारमा तीर्थाटनमा सहभागी गराउने, आर्थिक अवस्था कमजोर भएका सदस्यलाई चौरासी पूजा सम्पन्न गर्न सहयोग गर्ने तथा ज्येष्ठ नागरिकको चौरासी पूजामा सम्मान गर्ने कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक सम्बन्धलाई सुदृढ बनाउने प्रयास गरेका छन् ।
संस्थाले सदस्यको पारिवारिक तथा सामाजिक जीवनका महत्वपूर्ण अवसरलाई पनि सदस्यतासँग जोड्ने अभ्यास गर्दै आएको छ । नवविवाहित दम्पतीलाई स्वागत गर्ने, उनीहरूलाई संस्थाको सदस्यतामा आबद्ध हुन प्रोत्साहित गर्ने, निर्धारित सर्तअनुसार प्रवेश शुल्कमा छुट उपलब्ध गराउने तथा सदस्य वा सदस्यका छोराको व्रतबन्धका अवसरमा बधाई तथा सम्मान व्यक्त गर्दै सदस्यता वा बाल बचतको सुरुवात गर्न प्रेरित गर्ने कार्यक्रम यसका उदाहरण हुन् । यस्ता पहलले सहकारीलाई आर्थिक कारोबारमा मात्र सीमित नराखी परिवार, समुदाय र नयाँ पुस्तासँग जोड्ने तथा बचत र सहकार्यको संस्कारलाई पुस्तान्तरण गर्ने आधार तयार गर्छन् । निकट भविष्यमा सञ्चालन हुन गईरहेको आत्मनिर्भर छोरी कार्यक्रमले महिला शशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सदस्य हित कोषमार्फत सञ्चालित यी कार्यक्रमहरू केवल आर्थिक सहायता वितरण गर्ने माध्यम मात्र होइनन्; यी सदस्यप्रतिको संस्थाको आत्मीयता, जिम्मेवारी र सामाजिक प्रतिबद्धताका अभिव्यक्ति हुन् । सदस्यलाई दुःख पर्दा सहयोग, बिरामी हुँदा उपचारका लागि सहजीकरण, बालबालिकाको शिक्षामा प्रोत्साहन, ज्येष्ठ नागरिकलाई सम्मान र जीवनका महत्त्वपूर्ण अवसरमा साथ दिन सक्नु नै सहकारीको मानवीय पक्ष हो । सदस्यलाई पैसा आवश्यक पर्दा वित्तीय सेवा दिनु हाम्रो दायित्व हो भने दुःख पर्दा भरोसा र आत्मीयता दिनु हाम्रो मानवीय जिम्मेवारी हो । यही सोचले संस्थालाई केवल बचत तथा ऋणको कारोबार गर्ने निकायभन्दा माथि उठाएर सदस्यको सुख–दुःखमा साथ दिने साझा अभिभावकका रूपमा विकास गर्न सहयोग पु¥याएको छ ।
यद्यपि, संस्थाको वर्तमान अवस्थालाई उपलब्धि, सदस्य संख्या र वित्तीय कारोबारको विस्तारका आधारमा मात्र मूल्याङ्कन गरेर पुग्दैन । सदस्यको बचतप्रतिको विश्वास कायम राख्नु, कर्जा असुलीलाई प्रभावकारी बनाउनु, वित्तीय जोखिम व्यवस्थापन गर्नु, सदस्यको बदलिँदो आवश्यकता सम्बोधन गर्नु र संस्थाको सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउनु उत्तिकै महत्त्वपूर्ण छ । सदस्य हित कोषका कार्यक्रमहरूलाई थप व्यवस्थित, दिगो र वास्तविक आवश्यकतामा केन्द्रित बनाउँदै लैजानु पनि आजको आवश्यकता हो । संस्थाको स्रोत र क्षमताअनुसार यी कार्यक्रमको प्रभावकारिता बढाउनुका साथै सदस्यहरूलाई उपलब्ध सुविधाबारे जानकारी गराउने र आवश्यक सदस्यसम्म सेवा पु¥याउने व्यवस्था थप सुदृढ गर्नुपर्नेछ ।
हामीले प्राप्त गरेको उपलब्धिमा सन्तुष्ट भएर रोकिने होइन, विगतका अनुभवबाट सिक्दै संस्थालाई अझ उत्तरदायी, पारदर्शी, सुरक्षित र सदस्यको सुख–दुःखमा साथ दिने संस्थाका रूपमा विकास गर्नुपर्नेछ । मेरो दृष्टिमा संस्थाको वास्तविक सफलता यसको पुँजी, सदस्य संख्या र कारोबारको आकारमा मात्र निहित छैन; यसले कति सदस्यलाई आर्थिक रूपमा सक्षम बनायो, कति परिवारलाई संकटबाट जोगाउन सहयोग ग¥यो, कति बालबालिकाको शिक्षामा योगदान पु¥यायो, कति ज्येष्ठ नागरिकलाई सम्मान र भरोसा दियो तथा कठिन समयमा कति मानिसको सहारा बन्न सक्यो भन्ने कुरामा पनि निहित छ । सदस्यको बचत सुरक्षित राख्दै उनीहरूको आर्थिक उन्नति, सामाजिक सुरक्षा र मानवीय सम्मान सुनिश्चित गर्न सक्नु नै हाम्रो संस्थाको वास्तविक उपलब्धि र भविष्यको सफलताको आधार हो ।
३. अबको नेतृत्व र संस्थाको निरन्तरता
संस्थाको १७औँ वार्षिक साधारण सभा विगतको समीक्षा गर्ने अवसर मात्र नभई आगामी यात्राको दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर पनि हो । यस साधारण सभामार्फत संशोधित विनियम बमोजिम नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित हुँदैछ । संस्थाको स्थापनाकालदेखि निरन्तर अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने क्रममा यहाँहरू सम्पूर्ण शेयर सदस्य, बचतकर्ता, ऋणी सदस्य, कर्मचारी तथा शुभेच्छुकहरूबाट प्राप्त माया, ममता, विश्वास र सहयोगप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु । यस अवधिमा तपाईंहरूले देखाउनुभएको विश्वास र साथ नै मेरा लागि निरन्तर अघि बढ्ने सबैभन्दा ठूलो प्रेरणा रह्यो । यस पटक पनि यहाँहरूमध्ये धेरैले अर्को एक कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहन आग्रह गर्नुभएको थियो । तपाईंहरूको त्यो माया, विश्वास र सद्भावप्रति सम्मान व्यक्त गर्दै यस पटक मैले उक्त आग्रह स्वीकार गर्न नसकेको कुरा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु । मेरो यो निर्णय कुनै निराशा वा संस्थाप्रतिको जिम्मेवारीबाट विमुख हुने सोचबाट प्रेरित नभई संस्थामा स्वस्थ नेतृत्व हस्तान्तरण, संस्थागत सुशासन र नयाँ नेतृत्व विकासको आवश्यकतालाई आत्मसात् गरेर लिइएको हो ।
मेरो दृढ विश्वास छ—कुनै पनि संस्था व्यक्तिभन्दा ठूलो हुन्छ र संस्थाको निरन्तरता कुनै एक व्यक्तिको पदमा रहने अवधिभन्दा धेरै महत्वपूर्ण हुन्छ । एउटै व्यक्तिले लामो समयसम्म नेतृत्वमा रहँदा अनुभव र निरन्तरताका फाइदा भए पनि समयानुकूल नेतृत्व विकास, नयाँ सोचको प्रवेश र संस्थागत सन्तुलनका लागि जिम्मेवारी हस्तान्तरण गर्ने संस्कार उत्तिकै आवश्यक हुन्छ । हामीले पदमा रहँदासम्म मात्र संस्था राम्रो देख्ने र पदबाट बाहिरिएपछि संस्थाका सबै कामलाई नकारात्मक रूपमा हेर्ने पुरातन सोचलाई बदल्नुपर्छ । हामीले पद छोडेका हौँ, संस्था छोडेका होइनौँ । संस्थाप्रतिको हाम्रो माया, जिम्मेवारी र प्रतिबद्धता पदसँगै समाप्त हुँदैन । आउने नेतृत्वलाई आवश्यक सल्लाह, अनुभव, सहयोग र मार्गदर्शन प्रदान गर्दै संस्थाको हितमा निरन्तर साथ दिनेछौँ । निवर्तमान नेतृत्वले पद हस्तान्तरणपछि पनि संस्थाको उन्नति र सफलताका लागि रचनात्मक सहयोग गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नु हाम्रो साझा दायित्व हो । नेतृत्व परिवर्तनलाई संस्थाको कमजोरीका रूपमा नभई संस्थागत परिपक्वता, लोकतान्त्रिक अभ्यास र दिगो विकासको अवसरका रूपमा लिन म सम्पूर्ण सदस्यहरूलाई आग्रह गर्दछु ।
४. आगामी कार्यदिशा
संस्थाको आगामी यात्रा अझ व्यवस्थित, परिणाममुखी र दिगो बनाउन स्पष्ट रणनीति, प्रभावकारी सेवा प्रवाह, प्रविधिको अधिकतम उपयोग, वित्तीय अनुशासन र सदस्यको सक्रिय सहभागितामा विशेष जोड दिनुपर्नेछ । यसका लागि आगामी नेतृत्वले निम्न कार्यदिशालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता मैले देख्दछु ।
यी कार्यदिशा केवल आगामी नेतृत्वका लागि तय गरिएका लक्ष्य मात्र होइनन्; संस्थाको स्थापनाकालीन उद्देश्यलाई व्यवहारमा उतार्ने हाम्रो साझा प्रतिबद्धता पनि हुन् । लक्ष्य निर्धारण गर्नु महत्त्वपूर्ण छ, तर त्यसको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, पारदर्शी मूल्याङ्कन र आवश्यक सुधारमार्फत अपेक्षित परिणाम हासिल गर्नु अझ महत्वपूर्ण हुन्छ । त्यसैले आगामी नेतृत्वले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, व्यवस्थापन, कर्मचारी र सदस्यबीच समन्वय तथा सहकार्यलाई सुदृढ गर्दै संस्थाको दीर्घकालीन हितलाई सर्वोपरि राख्नेछ भन्ने विश्वासका साथ संस्थाको आगामी नेतृत्व, नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा कुनै पनि निर्णय भावनात्मक वा व्यक्तिगत धारणाका आधारमा नभई स्पष्ट उद्देश्य, तथ्य, लागत, लाभ र दीर्घकालीन दिगोपनका आधार तय गर्दा मतैक्य हुनुपर्ने १० वटा आधारभूत प्रश्नलाई ध्यान दिनुहुन अनुरोध गर्दछु ।
५. धन्यवाद तथा आभार
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आजसम्मको यात्रा कुनै एक व्यक्ति, सञ्चालक समिति वा कर्मचारीको मात्र प्रयासको परिणाम होइन; यो सम्पूर्ण शेयर सदस्य, बचतकर्ता, ऋणी सदस्य, कर्मचारी, शुभेच्छुक, सहयोगी तथा सरोकारवालाहरूको विश्वास, साथ, सहयोग र सामूहिक प्रयत्नको प्रतिफल हो । संस्थालाई यहाँसम्म ल्याउन प्रत्यक्ष तथा परोक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनहरू हाम्रा लागि अवसरसँगै चुनौतीपूर्ण पनि छन् । बदलिँदो आर्थिक परिवेश, नियामकीय व्यवस्था, प्रविधिको विकास र सदस्यका बढ्दो अपेक्षालाई आत्मसात् गर्दै संस्थालाई अझ पारदर्शी, सुशासित, प्रविधिमैत्री, सुरक्षित, सबल र दिगो बनाउनु हाम्रो साझा जिम्मेवारी हो । यसका लागि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, व्यवस्थापन र कर्मचारीको प्रयाससँगै प्रत्येक सदस्यको जिम्मेवार सहभागिता, वित्तीय अनुशासन र संस्थाप्रतिको अपनत्व उत्तिकै आवश्यक छ ।
त्यसैले यस गरिमामय साधारण सभामार्फत सम्पूर्ण शेयर सदस्यहरूलाई संस्थाको वर्तमान अवस्था र आगामी योजनालाई सकारात्मक तथा रचनात्मक दृष्टिकोणबाट बुझी आवश्यक सुझाव, सहयोग र साथ प्रदान गर्न हार्दिक आग्रह गर्दछु । यस साधारण सभाले विगतका उपलब्धिबाट थप ऊर्जा लिने, कमजोरीबाट पाठ सिक्ने, वर्तमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने र आगामी यात्रालाई अझ स्पष्ट, व्यवस्थित तथा परिणाममुखी बनाउने आधार तयार गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्तमा, हामी सबैको साझा प्रयासबाट सिवाईसीलाई केवल ठूलो वित्तीय संस्था मात्र नभई विश्वसनीय, सदस्यकेन्द्रित, सामाजिक रूपमा उत्तरदायी र पुस्तौँपुस्तासम्म गर्व गर्न सकिने दिगो संस्था बनाऔँ । नेतृत्व परिवर्तन हुँदैमा संस्थाको उद्देश्य, मूल्य, मान्यता र सेवाभाव परिवर्तन हुनुहुँदैन । बरु, हरेक नयाँ नेतृत्वले संस्थाको जगलाई अझ बलियो बनाउँदै नयाँ उचाइमा पु¥याउने वातावरण निर्माण गर्नुपर्छ । हामी आज जहाँ छौँ, त्यहाँसम्म आइपुग्न धेरैको पसिना, समय, विश्वास र त्याग जोडिएको छ । अबको जिम्मेवारी भनेको त्यस विरासतको संरक्षण गर्दै आगामी पुस्ताका लागि अझ सबल संस्था हस्तान्तरण गर्नु हो । यसै विश्वासका साथ संस्थाको आगामी यात्रामा यहाँहरूको निरन्तर साथ, सहयोग, सुझाव र विश्वास प्राप्त भइरहने अपेक्षा गर्दछु ।